राज्यसभा सांसद हर्षवर्द्धन शृंगलाको सक्रिय पहलकै फलस्वरूप दार्जीलिङका दिवाकर र सामदेनको शव स्लोभाकियाबाट सम्भवत: आइतवार साँझसम्ममा बाघडोग्रा विमानस्थल आइपुग्ने छ।
दिवाकर अनि सामदेनका शव दिल्ली वा कोलकातासम्म ल्याइदिने परिवारलाई स्लोभाकियाबाट जनाइएको थियो तर सांसद शृंगलाले यसबारे तत्काल त्यहाँको राजदूतावाससित सम्पर्क गर्दै शवहरूलाई दिल्ली अथवा कोलकाता होइन सोझै बाघडोग्रासम्म ल्याइनुपर्ने बताएपछि नै अब दुवै शवहरू बाघडोग्रा विमानस्थलसम्म ल्याइने भएको हो। यस आशयको जानकारी सांसद शृंगलाको कार्यालय सूत्रले दिएको हो।
यसका साथै, सांसदले शोकित परिवारहरूसित सम्पर्क गर्दै यसको जानकारी दिइसकेका छन्। सांसदले दिवाकरका बाबु र दिदी अनि सामदेनका बाबु र काकासित यसबारे कुराकानी गरिसकेको पनि थाहा लागेको छ।
यसैबिच, कतिपय कागजी कार्वाहीका लागि भने सामदेनका काका रविन तामङ दुवै परिवारका प्रतिनिधि स्वरूप दिल्ली जानेभएका छन्।
स्मरण गराइन्छ, गत 16 अगस्त शनिवारको दिन मध्य युरोप स्लोभाकियाको टर्नाभा जिल्ला अन्तर्गत पर्ने सुरभ्से गाउँमा पिकनिक खेल्न गएको समय त्यहाँको भा खोलामा डुबेर तकदा क्यान्टोमेन्ट निवासी 33 वर्षीय सामदेन तामङ अनि पाण्डामको जवाहर बस्ती मुन्तिर लिम्बू गाउँ निवासी 28 वर्षीय दिवाकर थापाको मर्मान्तिक निधन भएको थियो।
उल्लेखनीय छ, दिवाकर अनि सामदेन स्लोभाकियामा एउटा कार मेनिफेक्चरिङ कम्पनीमा सँगै काम गर्दथे।
आफ्ना छोराका पार्थिव शरीर स्वदेश ल्याउनमा सहयोग पुऱ्याइदिन भनी शोकित परिवारहरूले सांसद शृंगलाप्रति अपील गरेका थिए। उनको सहयोगमा शवलाई घरसम्मै ल्याइदिने व्यवस्थातर्फ पनि पहल गरिइने उनीहरूले अपेक्षा पनि साँचेका थिए।
शोकित परिवारहरूको अपीलपछि सांसद शृंगला र उनको समूहले सामदेन र दिवाकरको मृतदेहलाई स्वदेश ल्याउनतर्फ सक्रियताका साथ पहल शुरू गरेका थिए। नभन्दै, सांसदकै सक्रिय पहलस्वरूप नै आइतवार साँझसम्ममा दुवै शवहरू बाघडोग्रा विमानस्थलमा आइपुग्ने भएपछि शोकित परिवारका सदस्यहरूले राहतको सास फेरेका छन्।


Leave a Comment